चितवन। जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । लागूऔषध, विष्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने र चाडपर्वका समयमा सम्भावित अपराध न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले चेकजाँचमा तीव्रता दिएको हो ।
केन्द्रीय बसपार्क, गोन्द्राङ क्षेत्रलगायत बाहिरबाट आउने तथा स्थानीय सवारीसाधन सञ्चालन हुने स्थानमा सवारीसाधन जाँचमा कडाइ गरिएको छ । सवारी दुर्घटना रोक्न तीव्र गति, मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउनेमाथि प्रहरीले निगरानी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले लागूऔषध र विष्फोटक पदार्थका रूपमा प्रयोग हुन सक्ने पटाकालगायत सामग्रीको ओसारपसार नियन्त्रण गर्न चेकिङ गरिएको बताउनुभयो ।
उहाँले चेकजाँचमा तालिमप्राप्त कुकुर (केनाइन) टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो केनाइन (तालिमप्राप्त कुकुर) टोलीले विष्फोटक पदार्थ र लागूऔषध बोकेर आएको चिजलाई नियन्त्रण गर्न सकोस् र अपराध गर्नेहरू निरुत्साहित हुन्, आम नागरिकले सुरक्षित छौँ भन्ने महसुस गरून् भन्ने लक्ष्यका साथ काम गरेका छौँ ।”
जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिल थापाले चाडपर्वका समयमा गन्तव्यमा छिटो पुग्ने हतारोमा चालकले तीव्र गतिमा सवारी चलाउने भएकाले त्यसलाई नियन्त्रण गर्न एकीकृत रूपमा चेकजाँच भइरहेको बताउनुभयो । लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रुसँग बढी भाडा लिने, शङ्कास्पद सामग्री ओसारपसार गर्ने, अमर्यादित व्यवहार गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि निगरानी बढाइएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीव्र गतिमा सवारी चलाउनेलाई नियन्त्रण गर्न प्रविधिको प्रयोग गरिएको छ । केन्द्रीय बसपार्क, पोखरा बसपार्क, पुल्चोकलगायत यात्रुको आवतजावत बढी हुने स्थान तथा जिल्लाका विभिन्न नाकामा आकस्मिक चेकजाँच भइरहेको उहाँले बताउनुभयो । चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न चालक र सहचालकलाई सचेत गराउनुका साथै यात्रुलाई सजग गराइएको प्रहरीले जनाएको छ ।
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .