इ चितवन खबर
October 28, 2025
प्रिय नातिनी,
साउको भन्दा ब्याजको माया भने झैं, हामीले तिमीलाई यति धेरै माया दियौं कि त्यो मायालाई शब्दमा बयान गर्ने मेरो सामर्थ्य छैन। मैले मात्र किन हुन्थ्यो र !सबै हजुरामाले आफ्ना नातिनीलाई त्यस्तै माया गर्नुहुन्छ सायद।अनि आफ्ना अधुरा सपनाहरू आफ्नी नातिनीले पूर्ण गरेको देख्न चाहानुहुन्छ ।
मैले यति धेरै माया गरेकी मान्छे तिमी अब किशोरी भैसकेकी छौ। प्रेम बेस्सरी खन्याएकी तिमीलाई नियममा चाहिँ कति बाँध्न सकेँ या सकिन थाहा छैन।कहिलेकाहीँ डर लाग्छ, कहिँ हाम्रो परबरिसमा (लालनपालन )केही कमी त रहेन?
अहिले २१ औं शताब्दीकी छोरी तिमी । तिम्रो आँखामा संसारका रङ्गिबिरङ्गी रङ्गहरू फट्किरहेका छन् र हृदयमा अनगिन्ती सपनाहरू फुलिरहेका छन्। आकाशमा उड्ने स्वतन्त्र पंन्छी झै तिमी निस्फिकृ उडान भर्न चाहान्छ्यौ,मलाई थाहा छ ,तर नानी जीवनको बाटो सजिलो छैन, यदि साच्चिकै केही बन्न चाहन्छयौ भने कडा लगन, अनुशासन ,धैर्यता ,सत्य र सदाचारको बाटो कहिल्यै नछाडे । समयानुसार आधुनिक बन तर छाडा होइन। आफ्नो चालचलन र संस्कार आफ्नो पहिचान गुमाउने काम कहिल्यै नगर ।कृतिमताको टलक क्षणभर त सुन्दर देखिन्छ तर कालान्तरमा घातक नै हुन्छ । यो कुरा सधैं मनमा राख।
पश्चिमी हावा चारैतिर ब्याप्त छ ,त्यो सुगन्धित लाग्ने हावाले तिमीलाई पनि बहकाउन सक्छ । त्यस्को पछि तिमी कहिल्यै नलाग नानी ।आफ्नो भाषा ,संस्कृति र भेषभूषा नै आफु हुनुको पहिचान हो ।भाषा बदल्न सजिलो हुन्छ, तर मूल्य र मान्यता हराउन नदेऊ। सुशिल बन, तर संकुचित होइन।
धैर्यवान बन, तर अन्याय सहने होइन। जीवनका उकाली ओरालीहरुमा निकै कष्टप्रद क्षणहरु पनि आउन सक्छन। त्यति बेला हर मुस्किलसङ्ग लड्ने साहास तिमीमा हुनु पर्छ । जीवनका जस्तोसुकै जटिलतम परिस्थितिमा पनि हिम्मत हार्ने छैनौ ।।
जीवनमा आफूले चाहेका सबै कुराको प्राप्ति नहुन पनि सक्छ ,त्यति बेला बडो धीर बनी जीवनको रथ तिमीले अघि बढाउन सक्नु पर्छ। साना साना कुराले पनि बिचलित हुने मान्छेले जीवनमा केही गर्न सक्दैन ।जीवनअनमोल छ ,यस्लाई बडो जतनले सम्हाल्नु पर्छ ।नानी, यस्तो सुन्दरजीवन फेरि फेरि फर्केर आउदैन । समयले तिमीलाई धेरै विकल्पहरु दिनेछ । तिमीले पढ्ने पुस्तकहरू भन्दा ठूलो पाठ तिमीले जीवनबाट सिक्नेछौ। र त्यस बेला पनि तिमीले आफ्नो हृदयको आवाज सुन्न जान्नुपर्छ। सधैं सम्झ,शिक्षित हुनु राम्रो हो, तर शिक्षाले तिमीलाई मानवता बिर्साउने होइन, झन नजिक ल्याउने हुनुपर्छ।।के तिमीलाई थाहा छ?फलेको बृक्षको हाँगो सधैं नुहेको हुन्छ नि नानी।
जसरी फूलले सुगन्ध बाँड्छ तर गर्व गर्दैन, त्यसरी नै तिमी पनि आफ्नो ज्ञान, करुणा र इमानदारी बाँड्ने मान्छे बन। तिमीलाई संसारले चिनोस् तिम्रो वेशभूषा वा अनुहारले होइन, तिम्रो आचरण र विवेकले। तिमीलाई थाहा छ नानी ? आचरण र बिबेक त गहना पो हुन त जस्ले तिमी बस्ने घरलाई स्वर्ग बनाउँछ।
मलाई थाहा छ, समयले तिमीलाई फरक बनाउँछ, तर मेरो इच्छा यत्ति मात्र छ , तिमी हरेक रूपमा आधुनिक बन्ने प्रयास गर, अन्यायको बिरुद्धमा लड्न सक्ने साहासी छोरी बन। तर, हृदयमा सधैं आदर्श र संस्कारको उज्यालो बोकिराख। तिम्रो भविष्यमा असिम उज्यालोको कामना गर्दै माया र आशीर्वाद सहित, तिम्री हजुरआमा।
इन्दिरा कार्की
भरतपुर-१२,चितवन।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( १००% )
Excited ( ०% )
Angry ( ०% )
October 17, 2026
October 17, 2026
October 16, 2026
October 16, 2026
October 15, 2026
October 15, 2026
October 15, 2026
October 14, 2026
October 14, 2026
October 14, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .